थाहामा १५ दिने कफी बनाउने बारिस्ता तालिम शुरु

१९ फागुन, हेटौँडा । थाहा नगरपालिकाले युवा लक्षित १५ दिने कफी बनाउने बारिस्ता तालिम शुरु गरेको छ ।
स्थानीय युवलाई सिपमूलक तालिम दिएर व्यावसायिक बनाउने उद्देश्यले नगरपालिकाको आयोजनामा तालिम सुरु गरिएको हो । कफी सबैको प्रिय पेयपदार्थका रुपमा विकास हँुदै गएको र यो व्यवसायतर्फ युवाहरुको आकर्षण समेत बढेकाले तालिम आयोजना गरेको नगरपालिकाले जनाएको छ ।
तालिमबाट उद्यमशिल भई युवाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने उद्देश्ययले तालिम आयोजना गरिएको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले बताउनुभयो । सिप सिकेर आफ्नै गाउँघरमा पनि व्यवसाय सञ्चालन गर्न सकिने र वैदेशिक रोजगारीमा जाँदा पनि राम्रो काम पाउन सकिने भएकोले नगरपालिकाको तर्फबाट सिपमूलक तालिम प्रदान गरिएको थाहा नगर पालिकाका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछानेले बताउनुभयो ।
पछिल्लो समय युवाहरूसँग सीप नहुँदा बेरोजगार बढ्दै गइरहेको समस्यालाई मध्यनजर गर्दै आधारभूत बारिस्ता तालिम आयोजना गरिएको नगर उपप्रमुख भरत गोपालीले बताउनुभयो । थाहाको वडा न १ ओखरबजार स्थित सयपत्री होटलमा संचालित तालिममा नगरपालिका भित्रका ५० जना युवाहरुको सहभागिता रहेको छ।