सञ्चार रजिष्टार कार्यालयको भुमिका प्रभावकारी हुनुपर्छः सञ्चारकर्मी

१९ फागुन, हेटौँडा । सञ्चार जगतलाई व्यवस्थित एवम् मर्यादित बनाउन सञ्चार रजिष्टार कार्यालयले प्रभावकारी भूमिका खेल्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
सञ्चार रजिष्टार कार्यालय बागमती प्रदेशको आयोजनामा सोमबार भएको सरोकारवाला निकायबिचको छलफल कार्यक्रममा सहभागि सञ्चारकर्मीले सञ्चार रजिष्टारको जिम्मेवारी भित्रका काम, कर्तव्य प्रभावकारी बनाउन आवश्यक रहेको बताएका हुन् । अभिव्यक्ति स्वतन्त्रता तथा सञ्चार एवं सूचनाको हक संरक्षण र सम्बद्र्धनमा रजिष्ट्रार कार्यालयले साचेअनुरुप कार्य गर्न नसकेको पत्रकार महासंघ बागमति प्रदेशका निवर्तमान अध्यक्ष शिव देवकोटाले बताउनुभयो ।
सञ्चार रजिष्टारको पछिल्लो गतिविधिले औचित्य माथि नै प्रश्न उठेको उहाँले बताउनुभयो । पत्रकार महासंघ बागमति प्रदेश अध्यक्ष कृष्ण सारु मगरले पत्रकारको हक हित स्थापित गर्न पत्रकार महासंघ र सञ्चार रजिष्टारको कार्यालयबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उपाध्यक्ष विमला पाण्डेले महिला सञ्चारकर्मी पलायन हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । महिलालाई सञ्चार क्षेत्रमा स्थापीत गराउने खालका योजना आवश्यक रहेकोमा उहाँको जोड थियो । सो अवसरमा पत्रकार महासंघ मकवानपुर शाखाले प्रदेश समितिलाई स्वागत सम्मान एवम् बधाई ज्ञापन गरेको थियो ।