दशौं संस्करणको राष्ट्रिय हेटौँडा भेट्रान्स फुटबल प्रतियोगिता यही फागुन २२ गतेदेखि हुने

१८ फागुन, हेटौँडा । दशौं संस्करणको राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ यही फागुन २२ गतेदेखि हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक हेटौंडा भेट्रान्स क्लबले प्रतियोगिता बारे जानकारी गराएको हो । फागुन २६ गतेसम्म हुने प्रतियोगिता हेटौंडा ४ स्थित लोकतान्त्रिक चौर हुप्रामा हुने आयोजकले जनाएको छ । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ हुने लागेको प्रतियोगितामा १६ क्लबको सहभागिता रहने क्लकका संयोजक मणिराज गौतमले जानकारी दिनुभयो ।
४५ वर्ष माथि उमेर समुहमा खेलाईन प्रतियोगितामा प्रत्येक टिममा ५० वर्षभन्दा माथिका ३ जना खेलाडी अनिवार्य रहनुपर्ने संयोजक गौतमले बताउनुभयो । भेट्रान्स प्रतियोगिताले पूर्व खेलाडीहरुको सम्बन्ध विस्तार र भाइचाराको सम्बन्धलाई झन प्रगाढ बनाउने आयोजकले विश्वासले लिएको छ ।
प्रतियोगिताको उपाधि बिजेताले नगद १ लाख ५० हजार ५ सय ५५ रुपैंया र उपबिजेताले नगद ७५ हजार ५ सय ५५ रुपैंया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सयोजक गौतमले जानकारी दिनुभयो । त्यसैगरी प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
विधागत तर्फ सर्वश्रेष्ठ प्रशिक्षक, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डरलाई जनही ५ हजार प्रदान गरिने संयोजक गौतमले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न १२ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । नवौं संस्करणको उपाधि बानेश्वर फ्रेण्डसीप भेट्रान्स क्लबले जितेको थियो ।