नेपालमा पूर्वाधार र विकासमैत्री ऐन कानुन छैनः अध्यक्ष सिंह

१८ फागुन, हेटौँडा । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायी अहिले प्रताडित भएको बताउनुभएको छ ।
फागुन ६ गतेदेखि हेटौंडामा भएको दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को समापन समारोहमा बोल्नुहुँदै उहाँले निर्माण कार्यको समयमा सिमेन्ट, डण्डी लगायतको सामग्रीमा भएको अस्वाभाविक मुल्य बृद्धिबाट व्यवसायीहरु प्रताडित हुन पुगेको बताउनुभयो । सामग्रीहरुको कृत्रिम अभाव सिर्जना गरेर मुल्य बृद्धि गरिएको उहाँले आरोप लगाउनुभयो । अध्यक्ष सिंहले विश्वभर सफल भएका निर्माण व्यवसायीहरु नेपालमा काम गर्न असफल हुन पुगेको जिकिर गर्नुभयो ।
पूर्वाधार र विकासमैत्री ऐन कानुनहरु नहुँदा सम्म नेपालमा निर्माण कार्यहरु समयमा सम्पन्न हुन नसक्ने उहाँको भनाई छ । अध्यक्ष सिंहले राजनीतिक नेतृत्वहरुले स्रोतको सुनिश्चित्तता बिना नै निर्वाचन क्षेत्र लक्षित योजना ल्याउने गरेको बताउनुभयो ।
अध्यक्ष सिंहले आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव सफल भएको बताउनुभयो । लुकेर बसेका प्रतिभाहरुलाई पनि महोत्सवले राम्रो अवसर प्रदान गरेको उहाँको भनाई छ । निर्माण व्यवसायीहरु सामाजिक उत्तरदायित्व बहन गर्न पनि सक्षम छ भन्ने कुरा महोत्सवबाट पुष्टि भएको अध्यक्ष सिंहले बताउनुभयो ।
महोत्सवको १ लाख दर्शकले अवलोकन गरेको र ६ करोड बराबरको आर्थिक कारोबार भएको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपल कँडेलले जानकारी दिनुभयो । समापन समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई पनि सम्मानित गरिएको थियो ।