एकै मञ्चमा ११ जना सर्जक सम्मानित

१७ फागुन, हेटौँडा । मकवानपुरको अग्रणी साहित्यिक संस्था भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले एकै मञ्चमा ११ जना सर्जक, स्रष्टा एवम् व्यक्तित्वलाई सम्मान गरेको छ ।
प्रतिष्ठानले विशेष साँगितीक तथा पुरस्कार समर्पण समारोहको आयोजना गर्दै चारजनालाई राष्ट्रिय पुरस्कार र अन्य सातजनालाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । हेटौंडा उपमहानगपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा पुरस्कार समर्पण गरिएको थियो ।
यस वर्षको भीम विराग राष्ट्रिय साहित्य पुरस्कार काठमाडौंकी साहित्यकार माया ठकुरीलाई प्रदान गरिएको छ । यस्तै, राष्ट्रिय संगीत पुरस्कार रुपन्देहीका गायक हेमन्त शर्मा, राष्ट्रिय कला पुरस्कार मकवानपुरका कलाकार भोलाराज सापकोटा र राष्ट्रिय पत्रकारिता पुरस्कार काठमाडौँका पत्रकार ठाकुर बेल्वासेलाई प्रदान गरिएको छ । यी सबै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।
यस्तै, २० हजार रुपैंया राशीको रामकृष्ण बानिंया स्मृति लोक संगीत पुरस्कार पर्वतका लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई प्रदान गरिएको छ । १५ हजार रुपैयाँ राशीको तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ र शिला नारी पुरस्कार मकवानपुरकै महिला उद्यमी मेनका श्रेष्ठलाई प्रदान गरिएको छ ।
१५ हजार रुपैंया राशीको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट मकवानपुरका बालसाहित्य अभियानकर्मी दिपक गौतम सम्मानित हुनुभएको छ । भीम–मथुरा बाल प्रतिभा पुरस्कार मकवानपुरकी रितिका छत्कुलीलाई प्रदान गरिएको छ ।
यो पुरस्कारको राशी नगद १० हजार रुपैंया रहेको छ । १० हजार रुपैंया राशीको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट मकवानपुरकी स्वास्थ्यकर्मी निर्मला ब्लोन र अजित सेन–कमलेश्वर गुप्ता भिन्न क्षमता पुरस्कार मकवानपुरका दृष्टिविहिन मेकानिक सुदर्शन ढकाललाई प्रदान गरिएको छ । वरिष्ठ कला साधक भीम विरागको नाममा स्थापना गरिएको प्रतिष्ठानले वर्षेनी सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै आएको छ ।