हेटौंडामा मनाईयो ४३ औं मगर संघ स्थापना दिवस

१५ फागुन, हेटौँडा । ४३ औं मगर संघ स्थापना दिवस बिहिबार हेटौंडामा वृहत सास्कृतिक कार्यक्रम गरी भव्य रुपमा मनाईएको छ ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो । हेटौंडाको बुद्धचोक देखि कार्यक्रम स्थल हुप्राचौर सम्म झाँकी सहितको ¥याली निकालिएको थियो । मगर संघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष सन्देश मगरको सभाअध्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख लामाले मुलुकमा लोकतन्त्र स्थापना पश्चात् सबै जातजाति र धर्मावलम्बी संगठित भएर अगाडि बढ्ने अवसर पाएको बताउनुभयो । भाषा र संस्कृति लोप भएमा जातीय पहिचान नै संकटमा पर्ने भएकाले सबै जातजातिले आफ्नो भाषा र संस्कृति जर्गेर्ना गर्न उहाँले आग्रह गर्नुभयो ।
यसै गरी कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका राधिका हमाल, शशी पुन मगर, लोक तथा दोहोरी गायक अजित लोप्चन लगायतले गायन र स्थानिय कलाकारहरुले मगर सस्कृति झल्कने कौरा, मारुनी, घाटु, हुर्रा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा मगर समुदायको मौलिक परिकारहरुको स्टल समेत राखिएको थियो । मकवानपुरमा झन्डै २२ हजार मगरहरुको जनसंख्या रहेको छ ।
बर्षेनि फागुन १५ गतेलाई मगर संघले स्थापना दिबसको रुपमा मनाउने गरिन्छ । यस प्रकारका कार्यक्रम वाट मगर एकता र मगर संस्कृतिको जगेर्ना हुने बिश्वास लिएका छन् । मगर समुदायको माघे सकराती, लखन स्मृति दिवस, अरुण स्मृति दिवस, संघ स्थापना दिवस, बुद्ध पुर्णिमा, धान्य पुर्णिमा लगायत मुख्य चाड तथा दिवस रहेका छन् ।