भीम विराग प्रतिष्ठानले ११ जना स्रष्टालाई सम्मान गर्ने

स्वर्णिम खबर
१४ फाल्गुन २०८१, बुधबार १५:०५

१४ फागुन, हेटौँडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले ११ जनालाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।
फागुन १७ गते हेटौंडामा विशेष सांगीतिक तथा सम्मान कार्यक्रमको आयोजना गरी विभिन्न क्षेत्रका ११ जना सर्जक, श्रष्ठा एवम् क्रियाशिल व्यक्तित्वलाई सम्मान गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । वरिष्ठ कला साधक भीम विराग सक्रिय रहनुभएको साहित्य, संगीत, कला र पत्रकारिता चारवटै क्षेत्रलाई समेटेर हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्रष्टालाई पुरस्कार सर्मपण गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिनुभयो ।
भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८१ काठमाडौंकी साहित्यकार माया ठकुरी, राष्ट्रिय संगीत पुरस्कार २०८१ रुपन्देहीका गायक हेमन्त शर्मा, राष्ट्रिय कला पुरस्कार २०८१ मकवानपुरका कलाकार भोलाराज सापकोटा र राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ काठमाडौँका पत्रकार ठाकुर बेल्वासेलाई प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । ति सबै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।
१५ हजार रुपैयाँ राशीको तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ र शिला नारी पुरस्कार पनि मकवानपुरकै मेनका श्रेष्ठलाई प्रदान गरिने भएको छ । भीम–मथुरा बाल प्रतिभा पुरस्कार मकवानपुरकै रितिका छत्कुलीलाई समर्पण गरिने भएको छ । यो पुरस्कारको राशी नगद १० हजार रुपैंया रहेको छ ।
त्यसैगरी २० हजार रुपैंया राशीको रामकृष्ण बानिंया स्मृति लोक संगीत पुरस्कार पर्वतका लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट मकवानपुरका बालसाहित्य अभियानकर्मी दिपक गौतमलाई सम्मानित गरिने भएको छ । सो को पुरस्कार राशी १५ हजार रुपैंया रहेको छ ।
त्यसैगरी १० हजार रुपैंया राशीको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट मकवानपुरकै स्वास्थ्यकर्मी निर्मला ब्लोन र अजित सेन–कमलेश्वर गुप्ता भिन्न क्षमता पुरस्कार मकवानपुरका दृष्टिविहिन मेकानिक सुदर्शन ढकाललाई समर्पित गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । वरिष्ठ कला साधक विरागको नाममा स्थापना गरिएको प्रतिष्ठानले वर्षेनी सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु