नेत्रहीन महिला विश्वकप क्रिकेट २०२५ का लागि प्रारम्भिक छनौट सम्पन्न

स्वर्णिम खबर
१३ फाल्गुन २०८१, मंगलवार १९:१२

१३ फागुन, हेटौँडा । नेपालमा हुने पाँचौं टी–२० नेत्रहीन महिला विश्वकप क्रिकेट २०२५ का लागि प्रारम्भिक छनौट राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ ।
बागमती प्रदेशको राजधानी हेटौडा स्थित हुप्रचौर क्रिकेट मैदानमा गत फागुन १० गतेबाट सुरु भएको छनौट प्रतियोगिताको मंगलबार समापन गरिएको हो । मकवानपुर जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा ७ वटा प्रदेशबाट ३८ जना नेत्रहीन महिला क्रिकेट खेलाडीको सहभागिता रहेको थियो ।
सहभागि खेलाडीको दृष्टी अवस्थाका आधारमा बी १, बी २ र बी ३ समूह विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको हो । पूर्ण दृष्टिी विहीनलाई बी १ समूह, ५ मिटर सम्म दृष्टि भएकालाई बी २ र दृष्टि क्षमता १० मिटरसम्म भएकालाई समूह ३ मा राखेर खेलाइने गरिएको नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले जानकारी दिनुभयो । अध्यक्ष घिमिरेले नेपालका क्रिकेट मैदान अपांगमैत्री नभएको भन्दै दुख व्यक्त गर्नुभयो । नेत्रहीन खेलाडीका लागि क्रिकेट मैदानको व्यवस्था गर्न तालिम सञ्चालन लगायतका विषयमा राज्य गम्भिर नबनेको उहाँले बताउनुभयो ।
पहिलो चरण प्रतियोगिताबाट छानिएका २५ जना खेलाडीलाई दोस्रो चरणको छनौट प्रतियोगितामा सामेल गराइने विश्वकप क्रिकेट प्रतियोगितामा १५ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउनेछन् ।
सहभागी हुने अन्तिम १५ जना खेलाडीको टुंगो आगामी वैशाखमा हुने दोस्रो चरणको छनोट प्रतियोगिताबाट लगाइने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । खेलाडीको मेहनत, खेल कौशलता लगायत हेरेर दोस्रो चरणमा जाने खेलाडीको नाम केही दिनमा प्रकाशित गरिने संघले जनाएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव बद्रिनाथ गैरेको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा पहिलो र दोस्रो हुने समूहलाई शिल्ड मेडल प्रमाणपत्रका साथै तेस्रो हुने समूहलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु