देशमा लगानीमैत्री वातावरण निर्माणको लागि सरकार प्रतिबद्ध छः गृहमन्त्री लेखक

६ फागुन, हेटौँडा । गृहमन्त्री रमेश लेखकले समृद्धि र सुशासनको यात्रामा मुलुकलाई अगाडि बढाउन वर्तमान सत्ता समीकरण बनेको बताउनुभएको छ ।
संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य रहेको उहाँको भनाई छ ।
मंगलबारदेखि हेटौंडामा सुरु भएको दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ लाई उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले निजी क्षेत्रलाई पनि समाहित गर्दै देशमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार लागि परेको बताउनुभयो । आर्थिक गतिविधिहरुलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको समेत उहाँले दाबी गर्नुभयो । गृहमन्त्री लेखकले निजी क्षेत्रलाई व्यवसायिक वातावरणको सुनिश्चित गर्नको लागि नै अध्यादेश ल्याइएको स्पष्ट पार्नुभयो ।
त्यसैगरी गृहमन्त्री लेखकले वर्तमान सरकार गठन भएपश्चात् निर्माण व्यवसायीहरुको भुक्तानी दिने प्रक्रिया सुरु भइरहेको बताउनुभयो । निर्माण व्यवसायीहरुलाई आफ्नो काममा लगनशील भएर लाग्न आग्रह गर्दै गृहमन्त्री लेखकले ढिलै भएपनि बाँकी रहेको भुक्तानी दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । निर्माण व्यवसायीहरु माथि हुने अवाञ्छित गतिविधि रोक्न सरकारले सुुरक्षाको प्रबन्ध गर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।
गृहमन्त्री लेखकले निर्माण व्यवसायीहरुले जिम्मा लिएको काम गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्नेमा समेत जोड दिनुभयो । फागुन १८ गतेसम्म चल्ने महोत्सवमा निर्माण उपकरण, निर्माण सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामग्री लगायतका ३ सय ५० वटा स्टलहरु रहेको छ ।