सरकारको कारण लोकतन्त्र र राष्ट्रियता माथि खतरा पैदा भयोः महासचिव गुरुङ

स्वर्णिम खबर
१९ माघ २०८१, शनिबार १२:२९

१९ माघ, हेटौँडा । नेकपा(माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले देशको लोकतन्त्र र राष्ट्रियता माथि खतरा पैदा भएको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल, मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले वर्तमान सरकारको सोच र चिन्तनको कारण मुलुक गम्भीर संकटमा फस्दै गएको बताउनुभयो । महासचिव गुरुङले अन्र्तराष्ट्रिय राजनीतिमा देखिएको फेरबदलले नेपालको स्वाधिनताको रक्षा गर्नु चनौतीपूर्ण देखिएको जिकिर गर्नुभयो ।
मुलुकको स्वाधिनताको रक्षा गर्न अंगीकार गर्नुपर्ने परराष्ट्रनीति समेत सरकारले अंगीकार गर्न नसकेको उहाँको आरोप थियो । सुशासनको नाममा सरकारले भ्रष्टचारी र कमीशन तन्त्रलाई प्रक्षय दिने कार्य गरेको उहाँले जिकिर गर्नुभयो ।
महासचिव गुरुङले वर्तमान सरकारले संसद्लाई कमजोर र विस्थापित बनाउन खोजेको आरोप लगाउनुभयो । संसद्लाई छलेर अध्यादेश ल्याउनु व्यवस्था माथिकै हमला भएको उहाँको बुझाई छ । ३१ वटा कानुनलाई अध्यादेश मार्फत संशोधन गर्नुले सरकारको नियत नै गलत भएको उहाँले बताउनुभयो ।
महासचिव गुरुङले विगतमा प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टचार विरोधी अभियानलाई ओली नेतृत्वले सरकारले रातारात उल्टाउने काम गरेको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु