प्रदेश संरचनाको बारेमा हुने टिकाटिप्पणीलाई कामले जवाफ दिनुपर्छः प्रदेश प्रमुख देवकोटा

मनिल महतो
१८ माघ २०८१, शुक्रबार १७:४४

१८ माघ, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले प्रादेशिक संरचनाको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।
बागमती प्रदेशसभाको सातौँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्नुुहँदै उहाँले
प्रदेश संरचनाको बारेमा हुने टिकाटिप्पणीलाई शब्दले भन्दा पनि कामले जवाफ दिनुपर्ने बताउनुभयो । कार्यब्यबस्था परामर्श समिति, विषयगत समिति, प्रदेश सांसद् र मन्त्रीपरिषदको क्रियाशीलताले प्रदेशसभालाई थप प्रभाबकारी बनाउने सकिने उहाँको भनाई छ ।
प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाको गरिमा कायम राख्न प्रदेश सरकार चनाखो हुनुपर्ने बताउनुभयो । प्रदेशलाई बलियो बनाउन आवश्यक पर्ने कानुनहरूलाई चुस्त ,दुरुस्तरूपमा निर्माण गर्नुपर्नेमा उहाले जोड दिनुभयो । राजनीतिको चश्मा फुकाली आम जनहितका मुद्दाहरूमा आपसी मेलमिलाप र समझदारीको सन्देश जनतामा पु¥याउन समेत उहाँले आग्रह गर्नुभयो ।


यसैगरी समारोहमा बोल्नुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशबिना संघीयताको परिकल्पना गर्न नसकिने बताउनुभयो । विरोधको लागि विरोध गर्नेहरुले मात्र प्रदेश माथि प्रश्न उठाएको उहाँको आरोप थियो । मुख्यमन्त्री लामाले प्रादेशिक संरचनाबाट मात्रै विकास हुन्छ भन्ने मान्यतालाई पुष्टि गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको दाबी गर्नुभयो । मुख्यमन्त्री लामाले विगतको सरकारका अधुरा योजनाहरुलाई वर्तमान सरकारले अगाडि बढाउने समेत बताउनुभयो ।


यसैगरी कार्यक्रममा प्रदेशका पूर्व मुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश संरचनामाथि विवाद गर्न आवश्यक नरहेको बताउनुभयो । कामबाट नै प्रदेश सरकारको औचित्य पुष्टि भइसकेको उहाँले जिकिर गर्नुभयो । विकास निर्माण र सेवा प्रवाहको नेतृत्व प्रदेश संरचनाले गर्ने भएकोले सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्नुपर्ने उहाँको भनाई छ ।


सभामुख भुवन पाठकको सभाध्यक्षतामा भएको कार्यक्रममा उपसभामुख अप्सरा चापागाई, पूर्व सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु लगायत प्रदेश सरकारका मन्त्री र सांसद्हरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु