संविधान कार्यान्वयनमा आएका जटिलतालाई फुकाउन संविधान संशोधन हुन्छः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
१६ माघ २०८१, बुधबार १७:५२

१६ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा आइपरेका समस्या समाधानका लागि संविधान संशोधन हुने बताउनुभएको छ ।
बुधवार सिंहदरबारस्थित शहीदहरुको शालिकमा माल्यार्पण गर्दै उहाँले संविधान कार्यान्वयनमा आएका जटिलतालाई फुकाउन संविधान संशोधन हुने बताउनुभयो । उहाँले अब लोकतान्त्रिक प्रणालीमा देश आइसकेको भन्दै नेपाललाई शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त नेपाल बनाउन अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले देशमा कानूनी राज्य स्थापनाका लागि सरकारले काम गरिरहेको बताउनुभयो । लोकतन्त्रका नाममा अराजकता फैल्याउने, जनतालाई विभाजित गर्ने, साम्प्रदायिक विद्वेष फैल्याउने, देशलाई एकतावद्ध हुन नदिने कुराहरु स्वीकार्य नभएको समेत उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले विकास, शान्ति सुव्यवस्था, राष्ट्रिय एकतावद्ध राष्ट्र निर्माण गर्ने अभियानमा लाग्ने कुरामा अहिलेको सरकारले काम गरिरहेको समेत दाबी गर्नुभयो ।
यसैगरी कार्यक्रममा गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डा रहेको बताउनुभयो ।
उहाँले मुलुकमा शान्ति स्थापना गर्ने, विकास र समृद्धिको यात्रा अघि बढाउने दिशामा वर्तमान सरकार दृढतापूर्वक अघि बढेको जिकिर गर्नुभयो ।
राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै अघि बढ्न जरुरी रहेको समेत उहाँले बताउनुभयो । गृहमन्त्री लेखकले शहीदहरुको देखाएको बाटोमा अघि बढ्दै सुशासन, स्थायित्व र समृद्धिको मार्गलाई सुदृढ गर्दै जानु सबैको कर्तव्य भएको बताउनुभयो ।

 

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु