सर्वोत्तम संचितीको १८ औं वार्षिक साधारणसभा सम्पन्न
६ पुस, हेटौँडा । हेटौंडा ८ राजपानीमा स्थित सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा शनिबार भएको छ ।
संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा संस्थाका अध्यक्ष बस्नेतले वार्षिक प्रगति प्रतिवेदनका साथ आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यस्तै ऋण उपसमितिका संयोजक रामनाथ बगालेले ऋण प्रतिवेदन , कोषाध्यक्ष रामभक्त अधिकारीले संस्थाको आर्थिक कारोबार सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२ करोड ५४ लाख ८७ हजार छ सय शेयरपुँजी रहेको सहकारीले आफ्ना सदस्यलाई ७ करोड ३२ लाख १२ हजार ३५७ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक राजाराम थापाले बताउनुभयो । संस्थामा १९ लाख ८४ हजार ७८१ रुपैयाँ जगेडा कोषमा रहेको छ भने बचत निक्षेप ११ करोड २ लाख ४५ हजार ९२८ रुपैयाँ रहेको व्यवस्थापक थापाले बताउनुभयो ।
सभामा वडा नम्बर ८ का वडाध्यक्ष रामकृष्ण थापा, वडा नम्बर ७ का वडा ध्यक्ष दामोदर गौतम, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका वेदनाथ पौडेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।