प्रदेशबासीको हित नहुने कानुन बनाउनुको कुनै अर्थ छैनः प्रदेश प्रमुख देवकोटा
३ पुस, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले संविधानसंग मेल नखाएका प्रदेशका कानुनहरुलाई संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक समीक्षा कार्यक्रममा बोल्नुहुँदै उहाँले प्रदेशबासीको हित नहुने कानुन बनाउनुको कुनै अर्थ नहुने बताउनुभयो । सम्बिन्धत निकायको परामर्शमा संविधानसंग बाझिएका ऐन कानुनहरुलाई परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रदेश प्रमुख देवकोटाले तीन वटै तहको सरकारबीच देखिएका समस्याहरुको विषयमा एउटा निष्कर्षमा पुगेर समाधान निकाल्नुपर्ने बताउनुभयो । समन्वयात्मक भूमिकामा रहेर चुस्त, दुरुस्त कार्यसम्पादन गर्नु नै जिल्ला समन्वय समितिको गाइड लाइन भएको उहाँको भनाई छ । प्रदेश प्रमुख देवकोटाले कुनै दल र स्वार्थ बिना मकवानपुरको माटो र जनचाहानालाई प्राथमिकतामा राखेर अघि बढ्न पनि सुझाव दिनुभयो ।
यसैगरी कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशसभाका सांसद् एकालाल श्रेष्ठले तीनवटै तहका सरकारबीच अझै पनि अन्यौलता रहेको बताउनुभयो । बागमती प्रदेशमा आवश्यक ऐन कानुन बनाउन र बनेको कानुन कार्यान्वयनको लागि कार्यविधि बनाउन ढिलासुस्ती भएको उहाँको भनाई छ । सांसद् श्रेष्ठले जनताको बदलिंदो आवश्यकता र सीमित श्रोतसाधनबीच तालमेल मिलाउन पनि सरकारहरुबीच समन्वयको आवश्यक रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका १० वटा स्थानीय तह सहित २३ वटा निकायले प्रस्तुती करण राखेका थिए ।