२०८२ सालभित्र सडक बालबालिकाको व्यवस्थापन गरिसक्ने प्रधानमन्त्री ओलीको घोषणा
२ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालभित्र सडक बालबालिकाको व्यवस्थापन गरिसक्ने घोषणा गर्नुभएको छ ।
मंगलवार ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बाधन गर्दै प्रधानमन्त्री ओलीले २०८२ सालभित्र सडक मानव र सडक बालबालिकको व्यवस्थापन गर्दै सरकारले अभिभाकत्व दिने बताउनुभयो । उहाँले सडक बालबालिकाहरुको व्यवस्थापन गर्दै उनीहरुलाई यथोचित आहार र उपयुक्त शिक्षा दिएर सुयोग्य नागरिक बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
वर्तमान सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको उहाँको दाबी छ । प्रधानमन्त्री ओलीले मानवीय वृत्तमा केही समस्याहरु रहेको उल्लेख गर्दै त्यस्ता समस्याहरुलाई शिक्षा र नविनतम प्रविधिहरुको प्रयोग गर्दै समाधान गर्ने बाटोमा सरकार रहेको बताउनु भयो ।
व्यवस्था बद्लिएपनि नागरिकको अवस्था बद्लिएन भन्ने गरेको भन्दै नागरिकको अवस्थामा समेत बिस्तारै सुधार भइरहेको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले तीन वर्षको अवधीमा नौ लाख नागरिकलाई गरिबीको रेखामुनिबाट मथि उठाएको दाबी गर्नुभयो ।
विकासको क्रमसँगै केही नकारात्मक प्रवृत्तिहरु देखिएपनि आम रुपमा देशको अवस्था र जनताको अवस्था पहिलाको जस्तो नभएको समेत उहाँले बताउनु भयो । पूर्वपश्चिम राजमार्गहरु निर्माण, उद्योगहरुको स्थापना र स्थास्थ्यको क्षेत्रमा समेत उल्लेखनीय कामहरु भएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्ने सवालमा सरकारले भ्रष्टचरीहरुको मुख नहेरी अपराधका आधारमा कारबाही गर्ने बताउनुभयो ।