लोकतन्त्रको स्थापना पछि मानव अधिकार सुुनिश्चित भएका छन्ः मुख्यमन्त्री लामा

स्वर्णिम खबर
२५ मंसिर २०८१, मंगलवार १२:११

२५ मंसिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्रको स्थापना पछि मानव अधिकार सुुनिश्चित हुँदै गएको बताउनुभएको छ ।
मानव अधिकारको संरक्षण गरी समाज परिवर्तन गर्नुपर्छ भन्ने मान्यता स्थापित भएको उहाँको भनाई छ । ७६ औं मानव अधिकार दिवसको अवसरमा मंगलबार हेटौंडामा भएको कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री लामाले संविधानमै उल्लेख भएबमोजिम तीन वटै तहको सरकारले मानव अधिकार सम्बन्धी ऐन, कानुनहरु बनाएपनि कार्यान्वयनको पाटो फितलो भएको बताउनुभयो ।
कार्यान्वयन पक्ष बलियो भएमात्रै त्यसले सार्थकता पाउने उहाँको धारणा थियो । धार्मिक, आर्थिक, सामाजिक लगायतका क्षेत्रमा मानवको अधिकार सुनिश्चित गर्न सरकार, नागरिक समाज लगायत सबै एकजुट हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । मुख्यमन्त्री लामाले सत्य निरुपण तथा मेलमिलाप आयोगलाई प्रभावकारी बनाउनुपर्ने पक्षमा प्रदेश सरकार रहेको समेत जिकिर गर्नुभयो ।


यसैगरी कार्यक्रममा बोल्नुहुँदै आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले नागरिकहरु स्वतन्त्र भए राष्ट्रको विकास र आधुनिकीकरणमा सहयोग पुग्ने बताउनुभयो । संविधानमा व्यवस्था भएका मौलिक हक अधिकारको आधार स्तम्भ मानव अधिकारको घोषणा पत्र भएको उहाँको भनाई छ ।
संयुक्त राष्ट्रसंघले हालसम्म मानव अधिकारको रक्षाको लागि जारी गरेका ९ वटा महासन्धी मध्ये नेपालले ७ वटामा हस्ताक्षर गरेको उहाँले बताउनुभयो । मन्त्री लामिछानले नेपालमा मानव अधिकारको अवस्था भने सन्तोषजनक नभएको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका उपसचिव पवन कुमार भट्टले मानव अधिकारको अवस्था र राष्ट्रिय मानव अधिकारको आयोगको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, प्रमुख जिल्ला अधिकार तीर्थराज चिलुवाल लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*