प्रविधिमैत्री विधिबाट मात्र भ्रष्टाचार नियन्त्रण सम्भव छः मुख्यमन्त्री लामा

स्वर्णिम खबर
२४ मंसिर २०८१, सोमबार १२:२२

२४ मंसिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भष्टाचार नियन्त्रणमा सबैको सामुहिक प्रयास जरुरी भएको बताउनुभएको छ ।

भ्रष्टाचार नियन्त्रण गर्न मन्त्रालयदेखि कार्यपालिका, न्यायपालिका सबै एकताबद्ध र एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । भ्रष्टाचार विरुद्धको अन्र्तराष्ट्रिय दिवस २०८१ को अवसरमा सोमबार हेटौंडामा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री लामाले विधि नबनेसम्म भ्रष्टाचारको सवाल उठिरहने बताउनुभयो ।

हिजोको विधिले मात्रै भ्रष्टाचार नियन्त्रण सम्भव नभएकोले अब बन्ने विधि प्रविधिमैत्री हुनुपर्ने उहाँको भनाई छ । मुख्यमन्त्री लामाले राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र आम नागरिक सबैको सम्पत्ति पहिचान भए मात्रै भ्रष्टाचार नियन्त्रण हुन सक्ने जिकिर गर्नुभयो । ऐन कानुन मात्रै ल्याएर नहुने बताउँदै उहाँले भ्रष्टाचार नियन्त्रणको विधि आवश्यक रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले भ्रष्टाचार विकास र समृद्धिको बाधक भएको बताउनुभयो । भ्रष्टाचारलाई पूर्णरुपमा निर्मुल नपारेसम्म समृद्धिको लक्ष्य हासिल गर्न नसकिने उहाँको भनाई छ ।

चालु आर्थिक वर्षको पहिलो ५ महिनामै ५ सय ४१ वटा भ्रष्टाचारको उजुरी दर्ता हुनु चिन्ताको विषय भएको उहाँले बताउनुभयो । मन्त्री लामिछानेले सुशासन र भ्रष्टाचार प्रति शुन्य सहनशीलतालाई प्रदेश सरकारले आफ्नो प्राथमिकतामा राखेको दोहो¥याउनुभयो ।

 

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका कार्यालय प्रमुख उमाकान्त आचार्यले कार्यालय मातहतका निकायमा भ्रष्टाचारको अवस्था बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।शासकीय संरचनामा सुधार गरी सार्वजनिक सेवा प्रवाहमा चुस्तता र सहजता ल्याउन सके भ्रष्टाचार नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । सार्वजनिक खरिद व्यवस्थापनामा सुधार गर्न र आयोजना व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि प्रमुख आचार्यले सुझाव दिनुभयो ।

 

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव केशवराज सुवेदीले पनि समग्र बागमती प्रदेश भ्रष्टाचार निवारण र सुशासन प्रवर्द्धनका रणनीतिहरू विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बागमती प्रदेशका प्रमुख सचिव डा.हरिप्रसाद लम्सालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्री, सचिव, कर्मचारी लगायतकाको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*