विकास निर्माणलाई दिगो बनाउनुपर्ने आवश्यकता छः उपप्रधानमन्त्री सिंह
२० मंसिर, काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले नेपाल अहिले तिब्र शहरीकरणबाट गुज्रिरहेको बताउनुभयो । उहाँले आधारभुत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठूलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता औंल्याउनुभयो ।
उपप्रधानमन्त्री सिंहले नेपालको विविधतायुक्त भुगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती, स्थानीय मौलिक वस्तुकला, निर्माणशैली र मूर्त, अमूर्त सम्पदाहरु नेपालको ठूलो सम्पती भएको उल्लेख गर्नुभयो ।
योजनावद्ध शहरी विकास, भूउपयोग, भौतिक विकासको नियमन र रणनीतिक हिसावले एकीकृत पूर्वाधारमा लगानी नसकिएको खण्डमा भविष्यमा गम्भिर आर्थिक, सामाजिक र वातावरणीय असरहरु पर्ने उहाँको भनाइ छ ।