लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका कार्यक्रम सार्वजनिक

स्वर्णिम खबर
१० मंसिर २०८१, सोमबार १७:५८

१० मंसिर, हेटौँडा । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा विविध कार्यक्रम गर्ने भएको छ ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६ दिने अभियानका क्रममा सञ्चालन गरिने कार्यक्रमको बारेमा जानकारी गराइएको हो । मन्त्रालयले लैगिंक हिंसा न्यूनिकरणका लागि बागमती प्रदेश स्तरीय कार्य योजना बनाउने देखि महिला पत्रकारका लागि लेखन वृति प्रतियोगिता सम्म आयोजना गर्ने भएको छ ।
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान बागमती प्रदेशभर भव्यताका साथ मनाउनका लागि १ सय १९ वटै स्थानीय तहलाई अनुरोध गर्ने मन्त्रालयका सचिव बद्रीनाथ गैरेले जानकारी दिनुभयो । बागमती प्रदेशमा लैगिंक हिंसाको अवस्था र न्यूनिकरणका लागि भए गरेका कार्यक्रम सम्बन्धी सरकारी निकायका विशिष्ट व्यक्तिहरु राखेर अन्तरक्रिया गर्ने सचिव गैरेले बताउनुभयो ।
मन्त्रालयले बागमती प्रदेशमा लैगिंक हिंसाको अवस्था र न्यूनिकरणमा सरोकारवालाको भूमिका विषयक लेखनवृति प्रतियोगिता आयोजना गर्ने भएको छ । बागमति प्रदेशका महिला पत्रकार लक्षित उक्त प्रतियोगिताका उत्कृष्ट तीन सहभागीलाई नगद पुरस्कार समेत प्रदान गरिने सचिव गैरेले बताउनुभयो । मन्त्रालयले सरकारी, गैरसरकारी क्षेत्र, निजी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी सबैमा दिवस मनाउन अनुरोध गरेको छ ।
दिवसकै अवसरमा गैसस मकवानपुरले पनि विविध कार्यक्रमको आयोजना गरेको अध्यक्ष रमिला सापकोटाले जानकारी दिनुभयो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिन्छ । सोमबारदेखि सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको यस वषको नारा हामि सबैको प्रतिबद्धता लैगिंक हिंसा अन्त्यका लागि ऐक्यबद्धता रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*