अवैध विदेशी मुद्रासहित ३ जना भारतीय नागरिक हेटौंडामा पक्राउ
१० मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतका उत्तर प्रदेश जिल्ला जालौन बस्ने ४० वर्षीय बिजय सिंग कुशवाह, उत्तर प्रदेशकै जिल्ला गोरखपुर बस्ने २६ वर्षीय प्रशान्त पाठक र राजस्थान चितोरगढ बस्ने ३२ वर्षीय राहुल कुमार माण्डावत रहेका छन् ।
विशेष सूचनाको आधारमा खटिएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोलीले उनीहरुलाई हेटौंडा १ चौकीटोलबाट पक्राउ गरेको हो ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०७६५ नम्वरको इभी माइक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा बिजय सिंग कुशवाहको साथबाट अमेरिकन डलर १२ हजार, प्रशान्त पाठकको साथबाट युरो १४ हजार र राहुल कुमार माण्डावतको साथबाट अमेरिकन डलर २० हजार बरामद गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।
बरामद उक्त मुद्रा आजको बजार अनुसार नेपाली रुपैयाँ १३५.०१६ का दरले अमेरिकन डलर ३२ हजारको नेपालीमा रुपान्तरण गर्दा ४३ लाख ३० हजार ५ सय १५ रुपैयाँ र युरो नेपाली रुपैयाँ १४०.६८ कबा दरले १४ हजारको नेपालीमा रुपान्तरण गर्दा १९ लाख ६९ हजार ५ सय १५ रुपैयाँ पर्न जाने उहाँले बताउनुभयो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय मिनभवन ललितपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।