नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रुपमा प्रमाणित भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रुपमा प्रमाणित भएको बताउनुभएको छ ।
शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सार्वभौम क्रेडिट रेटिङको नतिजासँगै नेपाल लगानीका लागि सुरक्षित रहेको प्रमाणित हुने जिकिर गर्नुभयो । उहाँले क्रेडिट रेटिङको काम सरकारले शुरु गरेको र यो अन्तिम नभइ शुरुवात भएको बताउनु भयो । अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङलाई निरन्तरता दिने र आवधिक रुपमा अर्थतन्त्रको स्वास्थ्य स्थितिलाई सार्वजनिक गर्दै जाने उल्लेख गर्नुभयो ।
उहाँले यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रुपमा नेपाल लगानीका लागि अनुकुल गन्तव्य भएको सन्देश विश्वव्यापी रुपमा गएको बताउनुभयो । उहाँले नेपालमा लगानी गर्न आह्वान गर्दै नेपालमा लगानी गर्नेहरुले राम्रो प्रतिफल पाउने जिकिर गर्नुभयो । नेपालमा लगानी गर्नका निम्ति उत्साहका साथ सहभागी हुन समेत अर्थमन्त्री पौडेलले आह्वान गर्नुभयो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कन्ट्रि रेटिङमा नेपालले डबल बी माइनसको रेटिङ पाएको र यो दक्षिण एशियामा अनुकुल नतिजा रहेको बताउनु भयो ।