गरिबी निवारण बचतको २४ औं वार्षिक साधारणसभा सम्पन्न
१ मंसिर, हेटौँडा । हेटौंडा ६ हात्तिलेट स्थित श्री गरिबी निवारण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
६ नम्बर वडाका वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो । सभामा संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले आर्थिक वर्ष २०८१÷०८२ को लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने सचिव शरद कुमार श्रेष्ठले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।
प्रतिवेदन अनुसार संस्थाको कुल सेयर पुँजी १ करोड १ लाख रूपैयाँ रहेको छ । ७ करोड ३६ लाख ऋण लगानी रहेको यस संस्थाको बचत संकलन ७ करोड ५० लाख रहेको छ । यस सहकारीमा ५ सय २० पुरुष र ४ सय ९२ महिला शेयर सदस्य गरी कुल १ हजार १२ सदस्य संख्या रहेको विवरण पुस्तिकामा उल्लेख छ ।
कार्यक्रममा ५ जना वयोवृद्ध शेयर सदस्य, असल ऋणी, नियमित बचतकर्ता, स्थापना काल देखि हालसम्म बचत फिर्ता नलिने सदस्य, नियमित बचतकर्ता, खुतुर्के बचतकर्तालाई सम्मान गरिएको थियो । त्यस्तै, एसईई परिक्षामा उच्च जिपिए ल्याउने विद्यार्थी लगायत उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, जिल्ला सहकारी संघका प्रतिनिधि लगायतको आतिथ्यता थियो ।