सि.सं १२ सैन्य आधारभूत तालिमको अन्तिम दलेल कवाज प्रदर्शन सम्पन्न
१४ कार्तिक, हेटौंडा । श्री मध्य पृतना हेड क्वार्टर हेटौंडामा सञ्चालित सि.सं १२ सैन्य आधारभूत तालिमको अन्तिम दलेल कवाज प्रदर्शन सम्पन्न भएको छ ।
पृतनापति उपरथि प्रदीप जंग के.सी.को प्रमुख आतिथ्यतामा सैन्य आधारभूत तालिम समापन गरिएको हो । उक्त अवसरमा अन्तिम दलेल कवाज प्रदर्शन, विभिन्न विधाहरूमा उत्कृष्ट हुने सैन्यहरूलाई पुरस्कार वितरणका साथै सैन्यबाट सिपाही भएकाहरुको सपथ समेत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पृतनापति उपरथी केसीले नवनियुक्त सिपाहीहरूलाई आधारभूत तालिम सम्पन्न गरेकोमा बधाई दिनुभयो । तालिमे सिपाहीहरूलाई राष्ट्र, संस्था र जनता प्रति बफादार, ईमान्दार, कर्तव्यनिष्ठ भैई कार्य गर्न उहाँले आग्रह गर्नुभयो । सिपाही बलियो भए नेपाली सेना बलियो हुने, नेपाली सेना बलियो भए राष्ट्र बलियो हुने भएकाले नेपाली सेनाको गौरवमय इतिहास र सैनिक मूल्यमान्यतालाई आत्मसाथ गर्दै कर्तव्यपथमा लाग्न उहाँको आग्रह थियो ।
उक्त समारोहमा १ सय ३ तालिमे सिपाही दीक्षित भएका छन् । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जी, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, तीनैवटा सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।