मकवानपुरमा राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने

स्वर्णिम खबर
१३ कार्तिक २०८१, मंगलवार १५:३४

१३ कार्तिक, हेटौँडा । मकवानपुरमा राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार राती ९ बजेसम्म मात्रै देउसी भैलो लगायतका साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्न पाउने जिल्ला प्रशासन मकवानपुरद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । साथै चाडपर्व खुशीयाली मनाउँदा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जिवनमा असर नपर्ने गरि मनाउन प्रशासनले आग्रह गरेको छ ।
त्यस्तै तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट मानव स्वास्थ्य,सुरक्षामा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, बिक्री वितरण, ओसार पसार तथा प्रयोग नगर्न नगराउन समेत अनुरोध गरिएको छ । कानूनले निषेध गरेका जुवा, तास, लङ्बुरगुर्जा खेल्ने खेलाउने जस्ता क्रियाकलापहरू नगर्न विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरू नगर्न प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालद्धारा हस्ताक्षरित विज्ञप्तिमा अनुरोध गरिएको छ ।
नेपाल सरकारले प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएकाले उक्त कार्य गरिएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने विज्ञप्तिमा जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*