मकवानपुरमा लागूऔषध र चोरीमा संलग्न ९ जना पक्राउ
८ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध र चोरीमा संलग्न ९ जनालाई पक्राउ गरेको छ ।
बिहिबार जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरिएको हो । १ सय ५ किलो ६९ ग्राम लागूऔषध गांजा सहित १ जनालाई हेटौंडा १९ नेवारपानीबाट पक्राउ गरिएको छ । रजैया जाने जंगल छेउमा रोकी राखेको बागमती प्रदेश ०१–०२५ च ७८७१ नंबरको योद्धा पिकअप गाडी र गाडी भित्र रहेका वडा नंबर– ३ बसामाडी बस्ने २४ वर्षिय पन्चलाल थिङलाई गाँजा सहित पक्राउ गरिएको प्रहरी उपरिक्षक बिश्वराज खड्काले जानकारी दिनुभयो ।
यसैगरी हेटौंडा सिमेन्ट उद्योगबाट चोरी भएका बिजुलीको तारहरु सहित ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न हेटौंडा– १२ बाट मनिराज थोकरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा हेटौंडा– १३ बस्ने २८ वर्षिय सन्त बहादुर तितुङ लगायत केही व्यक्तिहरु मिली उक्त बिजुलीको तारहरु चोरी गरेको र हेटौंडा– ४ स्थित फरेष्टी गेट नजिक कवाडी पसलका संचालक भारतका मोतिहारी जिल्ला चिरैया थाना वडा नंबर– ७ बस्ने दिल खुश कुमार साहलाई बिक्री गरेको भनि खुल्न आएकोले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैगरी हेटौडा –८ स्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तारहरु चोरी गरेको आरोपमा हेटौंडा–८ कमाने बस्ने २६ वर्षिय सुमन राई , २५ वर्षियको समिर घिमिरे र २४ वर्षिय सुशान्त श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौंडा–८ क्याम्पा स्थित हेटौडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार चोरी गर्ने हेटौंडाको कमाने बस्ने २४ वर्षिय सुशान्त श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा–२ स्थित शान्तीटोल बस्ने राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नंबरकोे मोटरसाइकल चोरी गरेको आरोपमा हेटौंडा–८ का सुशान्त श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारबाही भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुरगढि गाउँपालिका वडा नम्बर–२ शिखरकटेरीमा ३७ किलो सेतो धातुको बिजुलीको तार चोरीको गरेको आरोपमा २४ वर्षिय राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।