सहकारी ठगी गर्ने व्यक्तिहरुमाथिको कारवाही प्रधानमन्त्रीको सय दिने उपलब्धिमा समावेश
७ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानूनी कारवाहीको दायरामा ल्याएको बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा सरकारका सय दिने उपलब्धी जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारवाही शुरु भएको र हालसम्म ६ सय भन्दा माथिलाई कानूनी कारवाही गरिएको बताउनु भयो । उहाँले ५ सय ७५ भन्दा बढी जेलमा रहेको बताउनु भयो ।
उहाँले सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र नभइ वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइने बताउनु भयो । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन्को हल्लाबाजी र सुटिङ् गरेर देखाउने विषय बन्नु नहुने उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई नभइ कानूनलाई गुरु मानेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म सङ्घीय सरकारी खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही प्रतिशतले वृद्धि भई करिव ३२९ अर्ब रुपैयाँ पुगेको छ । कुल राजश्व परिचालन १३ दशमलव ३ प्रतिशतले वृद्धि भई करिव २४८ अर्ब रुपैयाँ पुगेको बताउनुभयो ।