प्रतिपक्ष दलहरुले जनसरोकारका विविध विषयमा ज्ञापनपत्र मार्फत सरकारको ध्यानाकर्षण गराउने

स्वर्णिम खबर
२ कार्तिक २०८१, शुक्रबार १३:२३

२ कार्तिक, काठमाडौँ । प्रतिपक्ष दलहरुले जनसरोकारका विभिन्न विषयहरुमा ध्यानाकर्षण गराउँदै सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ ।
शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको प्रतिपक्ष दलहरुको बैठकले जनसरोकारका विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो । बैठकले प्राकृतिक विपद्को समयमा सरकार जनताप्रति जवाफदेही नभएको र उदासिन भएको निस्कर्ष निकालेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकार जनसरोकारका विषयहरु सम्बोधन गर्न केन्द्रीत नभइ निहित स्वार्थलाई प्राथमिकतामा राखेर अगाडी बढेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन लागिएको बताउनु भयो । उहाँले ध्यानाकर्षण गराउँदा पनि सरकारमा जिम्मेवारी बोध नदेखिएमा संसदको विशेष अधिवेशनको माग गरिने बताउनु भयो ।
त्यस्तै बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सरकारले परराष्ट्र मन्त्रालयमा ११० जनाभन्दा बढी कर्मचारी थपेर राज्यलाई स्थायी रुपमा भार पार्न खोजेको बताउनु भयो । उहाँले केश लागेको व्यक्तिसँग प्रधानमन्त्रीले आफ्नो पार्टी भवन बनाउन सहयोग लिएको भन्दै सो विषयमा सौदाबाजी पनि भएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले प्रधानमन्त्रीले विगतदेखि नै अध्यादेशमा काम गर्ने गरेको भन्दै फेरि पनि साना दलहरुलाई फुटाउने गरी अध्यादेश ल्याउनसक्ने शंका भएको बताउनु भयो । उहाँले यस विषयमा प्रधानमन्त्रीसहित राष्ट्रपति र सभामुख समेतलाई ध्यानाकर्षण गराउने उल्लेख गर्नुभयो ।
विपक्षी दलहरुको बैठकले नेकपा(माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेत, नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदल समेत गठन गरेको छ । प्रतिपक्ष दलहरुको बैठकमा सत्तारुढ घटककै लोकतान्त्रिक समाजवादी पार्टीको पनि उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*