प्रहरीबाटै राज्यले जनता समक्ष आफ्नो पहिलो उपस्थिति देखाउँछः मुख्यमन्त्री लामा

स्वर्णिम खबर
३० आश्विन २०८१, बुधबार ११:५३

३० असोज, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रहरी संगठनबाटै राज्यले जनता समक्ष आफ्नो पहिलो उपस्थिति देखाउने बताउनुभएको छ ।
नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले विपद्को समयमा र शान्ति सुरक्षा कायम गर्न प्रहरीको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । नागरिकको जीउधनको रक्षा गर्ने सरकारको जिम्मेवारी नेपाल प्रहरीले निर्वाह गर्दै आइरहेको उहाँको भनाई छ ।
मुख्यमन्त्री लामाले नेपाल प्रहरीलाई राज्यले पर्याप्त मात्रामा सेवा सुविधा दिन नसकेको स्वीकार गर्नुभयो । सीमित स्रोत र साधनको बाबजुद पनि प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न भुमिका खेलेको भन्दै मुख्यमन्त्री लामाले प्रशंसा समेत गर्नुभयो । बागमती प्रदेश प्रहरीलाई व्यवस्थित बनाउन प्रदेश सरकारले अभिभावकको भुमिका निर्वाह गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।


यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले देशको हरेक राजनीतिक, आर्थिक परिवर्तनमा प्रहरी प्रशासनको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । प्रहरीको साहस, लगनशील र समर्पणबाट जनताले कानुनी राज्यको अनुभुति गर्न पाएको मन्त्री लामिछानेको भनाई छ । उहाँले प्रहरीको मानसिक स्वास्थ्य र आधारभुत आवश्यकतामा सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो ।
त्यसैगरी प्रदेश प्रहरी प्रमुख कृष्णहरि शर्माले देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी नेपाल प्रहरीको प्राथमिकतामा रहेको बताउनुभयो । न्याय र प्रतिष्ठाको लागि हुने संघर्षले शान्ति सुरक्षा माथि नै चुनौती थपिएको उहाँको भनाई छ । प्रहरी प्रमुख शर्माले डर र त्रासबाट मुक्त भई निःश्वार्थ भावनाले बागमती प्रदेश प्रहरी जनसेवामा तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


कार्यक्रममा नेपाल प्रहरीले लागु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन भुमिका खेलेको भन्दै टिम टेलिभिजन प्रा.लि. र नेशनल गोल्ड टेलिभिजनलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । दिवसकै अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा बिजयी भएका खेलाडीहरु सहित सेवा निवृत्त, उत्कृष्ट कार्य गर्ने प्रहरीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*