११ नं. वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित

स्वर्णिम खबर
१९ आश्विन २०८१, शनिबार १७:१८

१९ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ११ निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम उपप्रमुख राजेश बानिंया विशेष आतिथ्यतामा शनिबार आयोजित एक कार्यक्रममा ११ नं. वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ वटा सुचकहरु मध्ये ४४ वटा सुचकमा शतप्रतिशत र बाँकी सुचकमा ८० प्रतिशत भन्दा माथि नतिजा हासिल गरिसकेको वडा अध्यक्ष जुना दाहालले बताउनुभयो । अध्यक्ष दाहालले घोषणाको दिगोपन कायम गर्न वडाको पञ्चवर्षीय रणनीतिक योजना समेत तयार भइसकेको जानकारी दिनुभयो । २०८७ सम्ममा सबै स्थानीय तहहरुलाई बालमैत्री स्थानीय तह घोषणा गर्ने सरकारको लक्ष्य अनुरुप ११ नं. वडालाई बालमैत्री वडा घोषणा गरिएको उहाँले बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख लामाले बालमैत्री वडा घोषणाको दिगोपन कायम गर्न वडा कार्यालयलाई आग्रह गर्नुभयो । उहाँले निकट भविष्यमा बालमैत्री नगर घोषणा गर्ने तयारीमा उपमहानगर रहेको समेत बताउनुभयो । ३ हजार ४ सय १७ बालबालिका रहेको यस वडामा २५ वटा बालसमुह र एउटा वडा बालसंजाल रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*