११ नं. वडा असोज १९ गते बालमैत्री वडा घोषणा हुने

स्वर्णिम खबर
१७ आश्विन २०८१, बिहीबार १७:५७

१७ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ११ निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।
बिहिबार पत्रकार सम्मेलन गरी यही असोज १९ गते शनिबार बालमैत्री वडा घोषणा हुन लागिएको जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा वडा अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समितिकी संयोजक जुना दाहालले बालमैत्री वडा घोषणाको लागि आवश्यक ५१ वटा सुचकहरु मध्ये ४४ वटा सुचकमा शतप्रतिशत र बाँकी सुचकमा ८० प्रतिशत भन्दा माथि नतिजा हासिल गरिसकेको जानकारी दिनुभयो ।
३ हजार ४ सय १७ बालबालिका रहेको यस वडामा २५ वटा बालसमुह र एउटा वडा बालसंजाल रहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । पूर्ण खोप, पूर्ण साक्षर र खुल्ला दिसामुक्त वडा घोषणा भई बालमैत्री वडा घोषणाको अन्तिम चरणमा आइपुगेको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले घोषणाको दिगोपन कायम गर्न वडाको पञ्चवर्षीय रणनीतिक योजना समेत तयार भइसकेको जानकारी दिनुभयो ।
बालमैत्री वडा घोषणाको लागि चालु आर्थिक वर्षमा ४ लाख बजेट छुट्याएको वडा कार्यालयले जनाएको छ । पत्रकार सम्मेलनमा हेटौंडा उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बिना थिङ, वडा सदस्यहरु, वडा सचिव जीवन ढुंगेल, ११ नं. वडाका सहजकर्ता कृष्टिना मैनाली लगायताको आतिथ्यता रहेको थियो । नेपाल सरकारले २०८७ सम्ममा सबै स्थानीय तहहरुलाई बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य लिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*