मन्त्रालयहरुबीच समन्वयको अभाव देखियोः मुख्यमन्त्री लामा

१६ असोज, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रालयहरुबीच समन्वयको अभाव रहेको बताउनुभएको छ ।
प्रदेश नीति तथा योजना आयोगको आयोजनामा भएको सरकारको बार्षिक समिक्षा बैठक तथा प्रदेश समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले योजना निर्माण गर्दा मन्त्रालय–मन्त्रालयबिच समन्वयको अभावले नतिजामूखि कार्य हुन नसकेको बताउनुभयो ।
मुख्यमन्त्री लामाले मन्त्रालयले आफ्नो जिम्मेवारी समेत बिर्सने गरेको टिप्पणी गर्नुभयो । लगानीको प्रतिफल नहेरी हचुवाका भरमा आयोजनामा लगानी हुने गरेको बताउदै यस्तो परिपाटीको अन्त्य हुनुपर्ने उहाँको भनाई छ । पाउडर दुग्ध उद्योगको उदाहरण दिदै मुख्यमन्त्री लामाले संरचना निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसक्नु दुखद भएको बताउनुभयो । मुख्यमन्त्री लामाले आफूखुशी प्रवृतिका कारण सात वर्ष सम्मपनि प्रदेशका स्थायी संरचना बन्न नसकेको बताउनुभयो ।
बैठकमा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले अहिले योजनाप्रति जनता, जनप्रतिनिधि देखि कर्मचारी मन्त्री सम्मले असन्तुष्टि जनाएको बताउनुभयो । सरकारले ठुलो रकम लगानी गरेको योजनाको समेत प्रतिफल शून्य रहेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री काफ्लेले प्रदेशको कार्यक्षेत्र भित्रका भएका तर कार्य हुन नसकेको योजनाका विषयमा छलफल आवश्यक रहेको बताउनुभयो ।
बैठकमा प्रदेश सरकारका मन्त्रालय, लोकसेवा आयोग, प्रदेशसभा सचिवालय, प्रदेश कोष तथा नियन्त्रण कार्यालयका सचिवहरुले प्रगति विवरणका साथै कार्यसम्पादनमा आइपरेका समस्या र समाधानका उपाय सहितको प्रस्तूतिकरण राखेका थिए ।