मुलुकमा आइपरेको विपत्तीको मिलेर सामना गर्न प्रधानमन्त्रीको आह्वान

स्वर्णिम खबर
१५ आश्विन २०८१, मंगलवार १८:१०

१५ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार, सहयोग र पुनर्निर्माणको कामका जुट्न आह्वान गर्नुभएको छ ।
मुलुकमा विपद्ले निम्त्याएका संकट समाधान लगायतका विषयमा मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले सरकारले पीडित जनताको उद्धार तथा राहतका लागि सक्दो पहल गरेको र केही कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने बताउनु भयो ।
पीडित जनताको उद्धार, राहत, सहयोग, पुनर्निर्माणका कामहरु गर्ने बेला भएकाले यसमा सम्पूर्ण नेपालीहरु एकजुट हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले सिंगो मुलुक विपदमा परेको उल्लेख गर्दै त्यसलाई सबैले मिलेर सामना गर्नुपर्ने बताउनु भयो । विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्याएर मर्का पारेको नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको सामना गर्ने कुरामा सबै लाग्नुपर्ने बताउनु भयो ।
यसैगरी सरकारले दुई दिनभित्र विपद् प्रभावित व्यक्तिहरुको खोज तथा उद्धार कार्य सम्पन्न गरिसक्ने जनाएको छ । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रश्तुत गर्नुभएको प्रेस विज्ञप्तीमा सो कुुरा उल्लेख गरिएको हो । त्यसैगरी बाढी, पहिरो र डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका घरपरिवारबाट राहत रकम वितरण गर्ने कार्य यथाशिघ्र सम्पन्न गर्ने पनि विज्ञप्तीमा समावेश गरिएको मुख्यसचिव अर्यालले बताउनु भयो ।
यसैगरी प्रधानमन्त्री कार्यालयका अनुसार बाढी, पहिरोमा परेर २ सय २४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १ सय ५८ जना घाइते भएका छन् । २१ जिल्ला प्रभावित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*