विपदबाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने

स्वर्णिम खबर
१४ आश्विन २०८१, सोमबार १३:४५

१४ असोज, काठमाडौँ । विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपद्बाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय भएको सहसचिव एवं गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताउनुभयो । उहाँले समितिले खोज, उद्धार र राहत कार्यलाई तिब्रता दिने निर्णय गरेको जानकारी दिनुभयो ।
विगत तीन दिनदेखिको भारी वर्षातका कारण विपद् प्रभावित क्षेत्रमा खोज उद्धारका बाँकी कार्यलाई निरन्तरता दिँदै मौसमजन्य विपद् प्रभावितहरुका लागि राहत वितरणको प्रक्रिया एकद्वारा प्रणालीबाट तत्काल शुरु गर्ने निर्णय पनि गरेको छ ।
विपद्मा घरवास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि विपद् प्रभावित व्यक्तिहरुका लागि सात दिनभित्र अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय भएको मन्त्रालयका प्रवक्ता तिवारीले बताउनुभयो ।
क्षति नोक्शानी सम्बन्धमा टास्कफोर्स बनाउने र टास्क फोर्सले १५ दिनभित्र क्षतिको विवरण संकलन गर्ने समयावधि दिइएको प्रवक्ता तिवारीले बताउनुभयो ।
प्रवक्ता तिवारीका अनुसार समितिले विपद् संवेदनशील सामाजिक सुरक्षा मापदण्ड स्वीकृत गर्न मन्त्रीपरिषद्मा पेश गर्ने, राष्ट्रिय, प्रदेश, जिल्ला एवं पालिकास्तरमा स्वयंसेवक ब्युरोले सक्रियतापूर्वक स्वयंसेवक परिचालन गर्न निर्देशन दिने निर्णय भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*