हरियाली प्रवद्र्धनमा हेटौंडा अगाडि छः मन्त्री श्रेष्ठ

स्वर्णिम खबर
२२ असार २०८१, शुक्रबार १७:५४

२१ असार, हेटौँडा । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले हेटौंडा हरियाली प्रवद्र्धनमा सधै अगाडि रहेको बताउनुभएको छ ।
शुक्रबार हेटौंडा ८ स्थित विन्दवासिनी मन्दिर तथा पार्क संरक्षण क्षेत्रमा कर्मचारी मिलन केन्द्रले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मन्त्री श्रेष्ठले ग्रीन सिटिको रुपमा हेटौंडा सधैं अगाडि रहेको बताउनुभयो । सार्वजनिक जग्गाहरुलाई संरक्षण गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न रोपिएका विरुवाहरुको हेरचाह र संरक्षणमा ध्यान दिन समेत उहाँले आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले हेटौंडा कर्राखोलालाई व्यवस्थित बनाउन हेटौंडा–९ त्रिवेणीधाम देखि हेटौंडा–१८ सम्म कर्राकरिडोर निर्माणका लागि वजेट विनियोजन गरिएको बताउनुभयो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले वृक्षारोपणको औचित्यता र यसले वातावरणमा पार्ने सकारात्मक प्रभावको वारेमा चर्चा गर्नुभयो । मन्दिर तथा पार्क क्षेत्रमा रुद्राक्ष, सतिसाल, एभोकाडो, अम्बा, आँप, अमला, कलकी र सौन्दर्यकरण जातका बिरुवा गरि करीब ८५ वटा बिरुवा रोपिएको छ । वृक्षरोपणका लागि विरुवाहरु डिभिजन वन कार्यालय हेटौंडा र वनस्पति अनुसन्धान केन्द्रबाट उपलब्ध गराईएको डिभिजन वन कार्यालय हेटौंडाका रेन्जर वसन्त राज गौतमले जानकारी दिनुभयो । कार्यक्रममा विन्दवासिनी मन्दिर तथा पार्क संरक्षण समितिका अध्यक्ष रमेश पौडेल लगायत कर्मचारी मिलनकेन्द्रमा आवद्ध कर्मचारीहरुको सहभागीता रहेको थियो ।

 

 

 

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु