हेटौंडामा महिला चालकहरुको मयुरीतर्फ आकर्षण बढ्दै

नानीमाया सापकोटा गौतम
११ असार २०८१, सोमबार १२:२१

१० असार, हेटौँडा । बिहानको ९ बजेपछि हेटौंडा ५ शान्तिनगरकी भगवती कार्की खाना खाइवरी घरभित्र पार्किङ गरिराखेको आफ्नो मयुरी चलाउदै हेटौंडा बजार तर्फ लाग्छिन् ।
अनि यसपछि शुरु हुन्छ उनको मयुरी चालकको रुपमा आय आर्जनको काम । उनी आय आर्जनका निम्ति करिब २ बर्षदेखि यहि पेशामा रमाइरहेकी छिन् । उनी बिहान बेलुकीको समय परिवारलाइ दिएर बाँकी समयमा दैनिक आय आर्जन गर्दै आइरहेकी छिन् । यस्तै हेटौंडा ५ पिप्ले निवासी जुना घिमिरे पनि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मयुरी चलाएर आय आर्जन गरिरहेकी छिन् । उनीपनि करिब डेढ बर्षअघिदेखि मयुरी चलाउदै आइरहेकी छिन् । श्रीमान अन्य क्षेत्रमा कार्यरत भएपनि आफुलाई आय आर्जनका लागि मयुरी चलाउदाँ कम समय दिए पुग्ने भएकोले यस क्षेत्रमा खुशी रहेको घिमिरेको भनाइ छ ।
हेटौंडाका सडकमा सयौं मयुरी तथा अटो दौडिरहेको देख्न सकिन्छ । एक ठाँउबाट नजिकै अर्को स्थानसम्म हतारमा पुग्नुछ भने तपाइलाई यिनै मयुरी तथा अटोहरु सबैभन्दा भरपर्दो र सुलभ सेवा दिन्छन् । बिशेषगरि मयुरीमा अटो भन्दा भाडादर सस्तो हुने हुँदा मयुरी लोकप्रिय रहेको छ । यकिन कति सँख्यामा मयुरी सञ्चालनमा छन् भन्ने तथ्याङ्क नभएपनि हेटौंडाका यि मयुरीको अर्को बिशेषता भनेको धेरै सँख्यामा महिलाहरु चालकहरु हुनु पनि हो । सडकमा दौडिरहेका सवारी साधनहरु मध्ये मयुरीहरुमा धेरै सँख्यामा महिला चालकहरु देखिन्छ । हेटौंडामा मयुरीको शुरुवात हुँदा खासै महिला चालकहरु थिएनन् । तर पछिल्ला बर्षहरुमा महिलाहरु बिस्तारै आर्थिक रुपमा सबल बन्न खोज्ने क्रममा हेटौंडामा मयुरीप्रति धेरै महिलाहरुको आर्कषण बढ्दै गइरहेको छ । बिहान ९ देखि १० बजे मयुरी चलाउन शुरु गरि ५ बजे वा साँझसम्म मात्र चलाउने गर्दा परिवारलाई दिने समय र स्याहारमा कमी नआएकोमा उनीहरु सन्तुष्ट छन् । उनीहरु मयुरी चलाएर बाँकी रहेको बिहान बेलुकाको समय आफ्नो घर, बालबच्चा तथा बृद्धवृद्धाको स्याहारमा दिने गर्दछन् । यसरी घरपरिवारलाई दिएर बाँकी समयलाई सदुपयोग गर्दा दैनिक ८ सय देखि १ हजार २ सय सम्म कमाइ हुने उनीहरु बताउछन् ।
आफुले मयुरी चलाउन खोज्दा सुरुमा सवारी चालकको काम महिलाको नभएको भन्दै हिनताबोध गराउन चाहनेहरु नै अहिले आय आर्जन गर्न सकेकोमा तारिफ गर्ने गरेको भगवती अनुभव सुनाउछिन् । “शुरुवात गर्दा नकारात्मक टिप्पणी गर्ने धेरै हुँदा रहेछन् तर काम गरेर देखाउदा भने तारिफ गर्ने रहेछन् ।” उनी भन्छिन– “अहिले त कतिपय यात्रुहरु महिला भएर पनि सवारी चालकको काम गरेको भन्दै प्रोत्साहन स्वरुप भाडामा थप पैसा समेत दिन्छन् ।” मयुरी चालकको पेशामा आफ्नो श्रीमानको सपोर्ट पाएर अघि बढिरहेको जुना बताउछिन् । कक्षा १२ सम्म अध्ययन गरेकी जुनाले बेरोजगार अवस्थामा यस पेशालाई आय आर्जनको बाटो बनाउन पाँउदा गर्व महशुस गर्दछिन् ।

आय आर्जनको राम्रो माध्यम
छोराछोरीका आवश्यकता पुरा गर्न सहज होस भनेर केही आय आर्जनको काम गर्ने सोचका साथ लागेका यि महिलाहरु दैनिक थोरै समय दिदाँ पनि राम्रो आम्दानी भएको बताउछन् । दैनिक ८ सय देखि १ हजार २ सय सम्म औसत कमाइ हुँदा पनि मासिक करिब ३० हजारको हाराहारीमा कमाइ हुने गर्दछ । यो रकम भनेको सामान्य पदका कर्मचारीको कमाइ बराबर हो । मयुरीका लागि पेट्रोल तथा डिजेल जस्ता इन्धन खर्च हुँदैन । यसमा इलेक्ट्रोनिक चार्ज गर्ने ब्याट्री प्रयोग हुन्छ । जसले गर्दा मयुरीको कमाइबाट मँहगो इन्धनमा खर्च हुँदैन, बिजुलीको मात्र पैसा तिर्नुपर्दछ । बार्षिक ८० हजारदेखि १ लाखसम्म ब्याट्री फेर्न खर्च हुने उनीहरुको भनाइ छ । मयुरी वातावरण मैत्री रहेकोले आवाज पनि कम आउने, धुलो धुवा तथा प्रदुषण रहित हुने भएकोले धेरै यात्रुहरु यसमा यात्रा गर्न मन पराउने उनीहरुको अनुभव छ । प्रति यात्रु बापत मयुरी चालकले ४० देखि ५० रुपैयाँ भाडा लिने गरेका छन् । दिउसो मयुरी चलाउने र राती चार्जमा राख्न पाइने भएकोले ब्याट्री चार्जका लागि छुट्टै समय निकाल्नु पर्दैन । यसले गर्दा मयुरी चलाउन झनै सहज हुने जुना बताउछिन् ।
भिडभाड बढी भएको ठाँउमा जान सके कमाइ बढ्ने भएकोले कुनै सँघसँस्थाको कार्यक्रम स्थल, अस्पताल छेउछाउ, पार्टी प्यालेस वा मेला जात्रा लागेका स्थानमा समय दिन सके कमाइमा वृद्धि हुने गर्दछ । यस्तै किनमेल गरिएका सानातिना सामान राखेर लैजान र सार्वजनिक कार्यालय नजिक जाँदा सेवाग्राहीहरु मयुरीमा चढ्न चाहन्छन् त्यसैले उनीहरु यस्ता स्थानका छेउछाउमा यात्रु पर्खेर बस्ने गर्दछन् । मयुरी चलाएर आय आर्जन गरि आफ्ना श्रीमानलाई साथ दिन सकेको, छोराछोरीका आवश्यकता पुरा गर्न पाएको र आत्मनिर्भर हुन सकेकोमा उनीहरु खुशी देखिन्छन् ।

चुनौतिका पाटाहरु
मयुरी चलाउदा उनीहरुसँग राम्रो अनुभव मात्र छैनन् , कहिलेकाँही बाटोमै मयुरी बिग्रिदिन्छ । त्यतिबेला समस्यासँग जुध्नुपर्छ । “ आफुलाई मयुरी चलाउन मात्र आँउछ , मेकानिकल कुराहरु केही थाहा हुँदैन ।”–भगवती समस्या सुनाउदै भन्छिन् । उनका अनुसार मयुरी बिग्रिएपछि मेकानिक्स सम्म पुर्याउन गाह्रो हुन्छ । विभिन्न संघसँस्थाहरुले महिलालाई मयुरी चालकको तालिम दिन्छन् । तर प्राबिधिक कुरा जान्न मेकानिक्सको तालिम झनै चाहिने रहेछ भन्ने उनको अनुभव छ । स्थानीय सरकारले मयुरी चालक महिलाहरुलाई मेकानिक्स तालिम दिए हुन्थ्यो भन्ने उनीहरुको चाहना छ ।
यस्तै कतिपय व्यक्तिहरुले महिलाहरु चालक बन्दा असुरीक्षत हुने भन्दै डर त्रासका कुरा सुनाउछन् । यसले गर्दा कहिलेकाँही मनमा डर समेत पैदा हुन्छ । नकारात्मक आपराधिक सोच भएका व्यक्ति पनि यात्रुको रुपमा आउन सक्छन् । तर अहिलेसम्म कसैबाट पनि दुव्यर्वहार भने सहनु नपरेको उनीहरु बताउछन् । यसैगरि यात्रुहरु पाइने स्थानतिर ट्राफिकले रोक्न दिदैनन् । यसले गर्दा यात्रु खोज्न सकस समेत पैदा हुने उनीहरु बताउछन् । यद्यपी यि समस्याहरु पन्छाउदै उनीहरु आय आर्जनको बाटोमा निरन्तर लागिरहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*