चलचित्र पत्रकार संघ मकवानपुरद्वारा सम्मान तथा पुरस्कार प्रदान

स्वर्णिम खबर
१० जेष्ठ २०८१, बिहीबार १९:१५

१० जेठ, हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरले विविध विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा संघले बिहिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै दुई जना सञ्चारकर्मी र दुई जना कलाकर्मीलाई सम्मान गरेको हो । संघले नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार सञ्चारकर्मी एवम् गीतकार गीता अधिकारी र चलचित्र पत्रकारिता पुरस्कार टिम टेलिभिजनका सम्पादक बालकृष्ण अधिकारीलाई प्रदान गरेको हो । यस्तै, संघले चलचित्र कलाकर्मी सम्मानबाट नायक एवम् गायक कोशिस क्षेत्री र धनमान श्रेष्ठ स्मृति सम्मानबाट कलाकार एवम् व्यवसायी धुव्र न्यौपानेलाई सम्मानित गरेको हो । साथै सो क्रममा रातोपाटी मकवानपुरका संवाददाता गणेश दुलाललाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समिर बलामी, चलचित्र पत्रकार संघका पूर्ब अध्यक्ष शान्तिप्रिय, चलचित्र संघ नेपालका केन्द्रीय अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार संघका महिला विभाग प्रमुख दिपज्योती थापा, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, चलचित्र पत्रकार संघ मकवानपुर शाखाका पूर्व अध्यक्षहरु पोष्टराज अधिकारी , रामशरण दुलाल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*