आँचलद्वारा ९ जना स्रष्टाहरु सम्मानित

स्वर्णिम खबर
१५ बैशाख २०८१, शनिबार १९:१३

१५ वैशाख, हेटौँडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ९ जना स्रष्टाहरुलाई सम्मान गरेको छ ।
हेटौंडा उपमहानगरपालिका ४ नं. वडाको सहयोगमा शनिबार एक औपचारिक कार्यक्रम गरी आँचलले एउटै मञ्चमा ९ जना स्रष्टाहरुलाई सम्मान गरेको हो । १० हजार १ रुपैंया राशीको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान २०८० बाट रेणुका जि.सी.सम्मानित हुनुभएको छ । यस्तै १० हजार १ रुपैंया राशीको प्रतिभा धिताल छन्द पुरस्कार २०८० नुवाकोट निवासी सुमित्रा सुमीलाई प्रदान गरिएको छ । ७ हजार ५ सय रुपैंया राशीको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान २०८० बाट मकवानपुरे पत्रकारितामा लामो समयदेखि निरन्तर क्रियाशील पत्रकार सरिता दाहाललाई सम्मानित गरिएको छ ।
टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०८० काठमाडौँ निवासी साहित्यकार प्रभा बराललाई प्रदान गरिएको छ । उहाँलाई ११ हजार १ सय ११ राशी र सम्मानपत्र सहित सम्मानित गरिएको हो । १५ हजार एक रुपैंया राशीको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०८० बाट साहित्यकार नेत्र एटम सम्मानित हुनुभएको छ । यस्तै ३ हजार ५ रुपैंया राशीको मंगलादेवि श्रेष्ठ बाल प्रतिभा पुरस्कार सम्मान–२०८० बालजागृति इङलिस स्कुलकी प्रसिद्धी लामिछानेलाई प्रदान गरिएको छ ।
५ हजार १ रुपैयाँ राशीको मुक्ति–तारा नवप्रतिभा सम्मान–२०८० मकवानपुरे नवप्रतिभा स्वस्तिका बानियाँलाई प्रदान गरिएको छ । १० हजार १ रुपैयाँ राशीको सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान– २०८० बाट साहित्यकार दीपक गौतम सम्मानित हुनुभएको छ । यस्तै आँचल सम्मान – २०८० सामाजिक व्यक्तित्व एवम् साहित्यसेवी हरिवंश भेटवाललाई प्रदान गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता एवम् आँचलकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*