समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यकः प्रधानमन्त्री

स्वर्णिम खबर
२५ चैत्र २०८०, आईतवार १२:०६

२५ चैत्र, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आईतवार ललितपुरमा आयोजित आठौं स्वास्थ्य बीमा वाषिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य सेवालाई समतामुलक ढंगले स्वास्थ्य बीमामार्फत उपलब्ध गराइ सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गरी यस कार्यक्रमलाई सार्थक र प्रभावाकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले स्वास्थ्य बीमा ऐनको प्रावधान अनुसार औपचारिक क्षेत्र जस्तैः शिक्षक, कर्मचारी, लगायत जनप्रतिनिधिहरुको आम्दानीअनुसारको स्वास्थ्य बीमा अनिवार्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले स्वास्थ्य बीमामा आकर्षण बढाउन विमितले सेवा लिने प्रक्रिया सहज बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवा प्रदायक संस्थालाई अझ सेवामैत्री बनाउने, सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने, स्वास्थ्य बीमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान चलाउने विषय आजका प्रमुख चुनौति रहेको बताउनु भयो ।
सरकारले सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमहरुलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने, संघीय, प्रदेश र स्थानीय सरकारबाट प्रदान गर्ने सेवा तथा सिफारिसहरुमा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्ने जस्ता महत्वपूर्ण नीतिगत सुधारका लागि गृहकार्य भइरहेको प्रधानमन्त्री दाहालले बताउनु भयो । स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा विकास गर्न सक्ने सम्भावनालाई नियालेर आवश्यक अध्ययनका आधारमा यथोचित निस्कर्षमा पुग्ने उहाँको भनाई छ ।

 

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु