चलचित्र क्षेत्र राज्यको संस्कृति र पहिचानसंग जोडिएको छः मेयर लामा

स्वर्णिम खबर
६ फाल्गुन २०८०, आईतवार १७:३७

६ फागुन, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले चलचित्र नरहे संस्कृति र पहिचान नरहने बताउनुभएको छ ।
मेयर लामाले चलचित्र क्षेत्र व्यक्ति र पेशागत भन्दा पनि राज्यको संस्कृति तथा पहिचानसंग जोडिएको बताउनुभयो । आइतबारबाट हेटौंडामा सुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर लामाले चलचित्र क्षेत्रलाई जोगाउन तीन वटै तहको सरकार गम्भीर बन्नुपर्ने उल्लेख गर्नुभयो । विकास निर्माण संगै चलचित्र क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने मेयर लामाको भनाई छ । चलचित्र सम्बन्धी ऐन बनाउन संघीय सरकार अघि बढेको उहाँले दाबी गर्नुभयो । मेयर लामाले फिल्म स्टुडियो बनाउन उपमहानगरले जग्गा उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । चलचित्र बिकास बोर्डले नेतृत्व लिएमा उपमहानगरले आर्थिक तथा समाजिक रुपमा सहयोग गर्ने उहाँको भनाई छ ।


यसैगरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन नबन्दा चलचित्र क्षेत्रको विकासका काम गर्न समस्या भइरहेको बताउनुभयो । चलचित्र ऐन निर्माणका लागि बोर्डले काम गरिरेहको समेत उहाँले स्पष्ट पार्नुभयो । विदेशी चलचित्रको अतिक्रमणबाट बचाउने र नेपाली चलचित्रलाई प्रोत्साहन गर्ने तर्फ पत्रकारहरुले भुमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष केसीले सिनेमा क्षेत्रलाई विश्व वक्स अफिसमा पु¥याउनु पर्ने जिकिर गर्नुभयो चलचित्र नै नरहे चलचित्रकर्मी, पत्रकार नरहेने भन्दै अध्यक्ष केसीले चलचित्र क्षेत्रको विकासका लागि काम गर्नुपर्ने जिकिर गर्नुभयो ।


कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले चलचित्र क्षेत्रले सेवा क्षेत्रको रुपमा मान्यता नपाउँदा समस्या भएको बताउनुभयो । त्यस्तै बागमती प्रदेश संचार रजिष्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको विकासका लागि प्रदेश सरकारले कानुन निर्माण गर्ने तयारी गरेको उल्लेख गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*