काँडेतारको शुक्रबार हेटौंडामा च्यारीटी शो

मनिल महतो
२७ पुष २०८०, शुक्रबार १९:३२

२७ पुस, हेटौँडा । नेपाली चलचित्र काँडेतारको शुक्रबार हेटौंडामा च्यारीटी शो गरिएको छ ।
सामना फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित चलचित्रको नारायणी मलस्थित एनएस सिनेमा हलमा च्यारिटी शो गरिएको हो । च्यारिटी शो मा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामा समेत उपस्थिति रहेको थियो । चलचित्र हेरेपछि स्वर्णिम खबरडटसंग कुराकानी गर्नुहुँदै समन्वय समितिका प्रमुख घलान र मेयर लामाले नेपाल र भारतबीच सीमामा देखिएको समस्यालाई चलचित्रले राम्रो ढंगले उठाएको प्रतिक्रिया दिनुभयो । लामो समयदेखि रहेको सीमा विवादको समस्यालाई समाधान गर्न नेतृत्व वर्गहरु पनि जिम्मेवार बन्नुपर्ने सन्देश चलचित्रले दिएको उहाँहरुको भनाई छ ।


यसैगरी चलचित्रका कलाकार एवम् निर्देशक नवल खड्काले सीमा विवादको समस्या प्रति राजनीतिज्ञहरु गम्भीर बन्नुपर्ने विषयलाई काँडेतार मार्फत प्रस्तुत गरिएको बताउनुभयो । सीमामा काँडेतार लगाउनु भनेको दुबै देशको जनताले शान्तिको साथ बाच्न पाउनु हो भन्ने सन्देश चलचित्रले दिएको उहाँले बताउनुभयो । यसैगरी चलचित्र विकास बोर्डका सदस्य सुशान्त श्रेष्ठले खुला सीमानाको कारण दुबै देशका जनताले भोग्नुपरेको समस्याप्रति सरोकारवालाहरु जिम्मेवार भएर अगाडि बढ्नुपर्ने सन्देश चलचित्रले दिन खोजेको बताउनुभयो ।
चलचित्रमा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुरलीधर, प्रशान्त यादव, प्रेम सुब्बा लगायतको कलाकारहरुको अभिनय रहेको छ । चलचित्र फागुन २७ गते देशभर प्रदर्शन हुने तयारीमा छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*